ओमिक्रोन भेरियन्ट वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक
काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ''कन्सर्न'' घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ।
यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।
यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।
कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्।
दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ। अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ।
युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्।
समय अनुसार भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्नु वा उत्परिवर्तन हुनु नयाँ विषय होइन। भाइरसको कुनै पनि भेरिअन्ट तब भेरिअन्ट अफ कन्सर्न बन्छ जब यसमा हुने उत्परिवर्तनले सङ्क्रामक क्षमता, खोपको प्रभावकारिता अनि यसले गर्न सक्ने खराबीमा प्रभाव पार्छ।
शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा B.1.1.529 नाम दिइएको भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो।
वैज्ञानिकहरूले यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका बेला उसले यो नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ।
अमेरिकाका एक जना सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले नयाँ भेरिअन्टबारे रिपोर्टहरूले ''रातो झन्डा'' देखाएको भए पनि गम्भीर बिरामी हुनबाट खोपले अझै पनि जोगाउन सक्ने सम्भावना रहेको बताएका छन्।
''राम्रोसँग परीक्षण नभएसम्म … हामीलाई थाहा छैन कि यसले भाइरसबाट जोगाउने प्रतिरोधात्मक क्षमतालाई छल्न सक्छ/ सक्दैन,'' उनले सीएनएनलाई भने।
नयाँ भेरिअन्ट कस्तो?
दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक सङ्क्रामक भएको बताएका छन्।
उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई "भयानक" भनेर व्याख्या गरेको बताए।
अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेकोमध्ये खराब भएको बताएका छन्। नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।
हामीलाई के थाहा छ?
यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ। दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो "धेरै भिन्न" र "उत्परिवर्तनको अस्वाभाविक समूह" देखिएको बताए।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिन भएको बताए। धेरै खोपले स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ।
धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो। तर अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ। बीबीसी
फेसबुक पेज Like गर्नुहोस