काठमाडौ-रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

यो देशभर रहेका अपाङ्गता भएका व्यक्तिहरुको पुनर्स्थापनाका साथै शिक्षा, स्वास्थ, रोजगारी र समावेशी कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित कोष हो।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १ हजार ५ सय अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्रीहरु प्रदान गर्दै आएको जनाएको छ।

कृत्रिम हात खुट्टा, क्यालिफर, बैशाखी, सेतो छडी, वाकिङ स्टिक, ओर्थोपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री कोषले वितरण गर्दै आएको छ।

साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा कोषले उपलब्ध गराउँदै आएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी विशेषतः वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्‍याउने उद्देश्यबाट सहयोग गरिएको जनाएको छ।