काठमाडौं-संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख पुन: छलफलमा जुटेका छन् ।

मध्यान्ह साढे १२  बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो । अहिले नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए ।

तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् ।