कोरोना संक्रमणको चौथो चरणमा नेपाल, विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनसक्ने
काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ ।
स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ लागु गर्ने योजना बनाएको थियो । ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।
स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिकार्य योजनामा कोभिड–१९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो १ हप्तामा थप ३ हजार ५०८ जनालाई संक्रमण देखिएको छ ।
तर अस्तव्यस्त क्वारेन्टीन, खुकुलो लकडाउन, पीसीआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नु लगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ । संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टीनबाट दैनिक ६ हजार ७०० बाहिरिने गरेका छन् । पछिल्लो १ हप्तामा क्वारेन्टीनबाट ६ हजार ७४२ जना बाहिरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवारसम्म ८५ हजार ८१३ जना क्वारेन्टीनमा बसेका छन् । मंगलवार मात्रै ४ हजार ९१७ जना क्वारेन्टीनबाट निस्किएका छन् । गत बुधवार ७ हजार २११, बिहीवार ९ हजार ५८३, शुक्रवार ६ हजार ७५४, शनिवार ७ हजार २१६ जना क्वारेन्टीनबाट निस्किएका छन् ।
गत आइतवार ७ हजार ३१७ र सोमवार ४ हजार १९८ जनाले क्वारेन्टीन छोडेका छन् । नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ जारी गर्दै स्वास्थ्य मन्त्रालयले क्वारेन्टीनमा रहेकाहरूलाई पीसीआर परीक्षणबाट बन्देज गरिएको छ । गाइडलाइनमा क्वारेन्टीनमा रहेका व्यक्तिको १४ दिनपछि आरडीटी परीक्षण गरिने उल्लेख छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । मंगलवार थप ५३८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । हालसम्म संक्रमितमध्ये २ हजार २२४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ७६ जिल्लामा संक्रमण देखिएको छ ।
हालसम्म आरटी–पीसीआर प्रविधिबाट १ लाख ८६ हजार ३६६ जनाको कोरोना परीक्षण भएको छ । मंगलवार ४ हजार ९९५ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । पछिल्लो २ हप्तायता सबैभन्दा कम मात्रामा कोरोना परीक्षण मंगलवार भएको देखिन्छ । संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन ।
राजधानी दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस