काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागि उपमहानगर कमिटीले ३ जनाको नाम सिफारिस गरेको छ ।

कार्तिक १५ गते बिहान पार्टी कार्यलयमा बसेको नेकपा उपमहानगर कमिटिको पूर्ण बैठकले जिल्ला सदस्य तथा नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ), जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं १ का संयोजक प्रकाश राई र जिल्ला सदस्य बेणु काफ्लेको नाम सिफारिस गरेको हो । सोहि दिन साँझ बसेको सुनसरी जिल्ला कमिटीको पदाधिकारी वैठकले पनि उक्त ३ जनाको नाम सर्वसहमतले निर्णय गरि प्रदेशमा सिफारिस गरेको हो । 

नगर प्रमुख पदको लागि ३ जनाको नाम सिफारिस भएपनि फोक्वाहाङ सुब्बा (चोत्लुङ)को सम्भावना प्रबल देखिन्छ ।  राजनीतिमा सक्रिय युवा नेता फोक्वा हाङ सुव्वा (चोत्लुङ) एक दशक भन्दा लामो समयदेखि धरानको भूगोल, माटो र धराने जनतासँग प्रत्यक्ष परिचित छन् ।

उनी तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सहभागि भएका कुशल, सालिन संगठक र योद्धा हुन् । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत भई धरान उपमहानगरको संयोजक समेत भईसकेका चोत्लुङ्ग धरान उपमहानगरपालिकामा सर्वदलीय संयन्त्रको संयोजक बनेर काम गरिसकेका छन् ।

धरानमा सबै राजनीतिक दलको नेतृत्व समेत गरिसकेका चोत्लुङ्ग अहिले नेकपा एमाले र माओवादी केन्द्रको एकता पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको जिल्ला सचिवालय सदस्य  एवं धरान उपमहानगरका ईन्चार्ज समेत हुन् ।

धरान उपमहानगरको विकास र समृद्धिको लागि स्पष्ट भिजन र योजना भएको अनुभवी, बलियो जनआधार र संगठनात्मक पकड  साथै स्व. मेयर तारा सुब्बाका सहयात्री समेत रहेका फोक्वा हाङ सुब्बा (चोत्लुङ) नेकपाबाट मेयर बन्नुपर्ने आवाज सशक्त रूपमा उठिरहेको समेत छ ।

यसअघी धरानको मेयर पदको नेकपा भित्र केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार  मेयाङम्बो, आइन्द्रविक्रम बेघा, जिल्ला सदस्य प्रकास राई, पदम इम्वो, तिर्थ मास्के लगायत एक दर्जन बढीको नाम चर्चामा आएको थियो  ।