काठमाडौं - नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो।

स्थायी कमिटी बैठकपछि प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका अध्यादेशहरूमा संसदमा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको उल्लेख छ।

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि निर्णयार्थ पेस हुन सकेको छैन।

भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रिय सभामा बहुमत पुग्ने नदेखिएपछि सरकारले अध्यादेश निर्णयार्थ पेस नगरेको हो।

नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशमा सहयोग गर्न एकीकृत समाजवादीलाई आग्रह गरेको चर्चाबीच उक्त पार्टीले अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको हो। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना र राष्ट्रिय सभामा ८ जना सांसद छन्।