काठमाडौं - मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे ।

विसं १९५० मा वनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौंको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो ।