‘मोन्था’ चक्रवातको असर : हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं - बंगालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव नेपालमा पनि देखिएको छ ।
उक्त चक्रवातको प्रभावले कोशी र मधेश प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्ला तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा र सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर कोशी र मधेश प्रदेशमा चक्रवातको प्रभाव केन्द्रित हुने अनुमान छ । त्यसै कारण ती क्षेत्रका केही स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा र बाँकी प्रदेशहरूमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रहरू — विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हिमपात हुने सम्भावनासमेत मौसमविद्हरूले बताएका छन् ।
यद्यपि, भोलि शनिबार बिहानदेखि मौसममा क्रमशः सुधार हुने अपेक्षा गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस