कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं - देशका विभिन्न जिल्लामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङमा तीन, कैलाली र रुपन्देहीमा २÷२ तथा चितवनमा एक जना संक्रमितको मृत्यु भएको हो।
मोरङमा कोभिड अस्पतालमा उपचाररत दुई जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको हो। उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान ६ बजे मृत्यु भएको छ। त्यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा बिहान ७ बजेतिर मृत्यु भएको छ।
अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। त्यस्तै सिरहाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो।
रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल एक पुरुष र भैरहवास्थित भिम अस्पतालमा एक महिला संक्रमितको मृत्यु भएको हो। बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।
कात्तिक २२ मा संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ। कात्तिक १७ मा संक्रमण पुष्टि भएकी सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको आज विहान सवा ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए।
कैलालीमा आज कोरोना संक्रमति २ जना वृद्धको मृत्यु भएको छ। टिकापुर र धनगढीका एक एक जना कोरोना संक्रमतिको आज बिहान मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनी २० गते कोरोना पुष्टि भइ होम आइसोलेसनमा बसिरहेका थिए। यस्तै आजै बिहान धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। उनको आज बिहान सेती प्रादेशिक कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जोशीले बताए। कडा प्रकारको निमोनिया देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो।
चितवनमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको भरतपुर कोभिड अस्पतालले जनाएको हो। यहि कार्तिक २० गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका उनको आइसियुमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको हो। उनलाई यहि कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस