म्यानचेस्टर युनाईटेडकाे शानदार जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा युनाइटेडले ९ खेलाडीमा समेटिएको साउथह्याम्टनमाथि ९–० को फराकिलो जित निकालेको हो ।
साउथह्याम्टनका लागि खेलको सुरुवात नै राम्रो भएन । खेलको दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।
१८ औं मिनेटमा आरोन वान वासिकाले गोल गर्दै घरेलु टोली युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर पारे । त्यसपछि ३४औ मिनेटमा जान बेडनारेकको आत्मघाती गोल र ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गरेपछि युनाईटेड पहिलो हाफमै ४-० ले अघि बढ्यो ।
५४औं मिनेटमा साउथह्याम्टनका चे एडाम्सले गोल गरेपनि भिएआरले मान्यता दिएन । खेलको ६९ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई ५-० को अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा युनाईटेडका स्कट म्याकटोमिनेले गोल गरे । ८६औं मिनेटमा जान बेडनारेकले पेनाल्टी बक्समा फल गरेपछि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि साउथह्याम्टन ९ खेलाडीमा समेटिन पुग्यो । प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेस चुकेनन् ।
त्यसपछि ९० औं मिनेटमा मार्सियलको व्यक्तिगत दोस्रो गोल र इन्ज्युरी समयमा ड्यानियल जेम्सको गोलको सहयोगमा युनाइटेडले ९–० को फराकिलो जित निकाल्न सफल भयो ।
जितसंगै युनाईटेड २२ खेलमा ४४ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित साउथह्याम्पटन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस