काठमाडौं - प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट सिफारिस भएका छन्। कांग्रेसको दार्चुला जिल्ला समितिले बडूसहित चार नेतालाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेर केन्द्रीय समितिमा पठाएको हो।

कांग्रेसको जिल्ला समिति, दार्चुलाका सभापति ललितसिंह बोहोराले मन्त्री बडूसहित चार जनालाई प्रत्यक्षतर्फ, प्रदेश सभाका दुवै क्षेत्र र समानुपातिकमा नेताहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको जानकारी दिए। जिल्ला समितिको निर्णयअनुसार बुधबार केन्द्रीय समितिमा सिफारिस पठाइन लागेको उनले बताए।

दार्चुला कांग्रेसले बडूसँगै नेताहरू विक्रमसिंह धामी, जगदीश पाल र गौरीशंकर गिरीलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउन सिफारिस गरेको हो। समानुपातिकमा जिल्ला सभापति ललितसिंह बोहोरा, गणेश भट्ट, पदमराज पन्त, नन्द बम र अमरसिंह धामीलाई सिफारिस गरिएको छ। बोहोरा र बमलाई प्रदेश सभा ‘क’ को प्रत्यक्षमा उम्मेदवार बनाउन पनि सिफारिस गरिएको हो।

प्रतिनिधिसभामा प्रत्यक्षमा बडूले उम्मेदवार बन्न चाहेमा सिफारिसमा परेका अन्य नेताहरू पछि हट्ने बताइएको छ। दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसले उम्मेदवारी पाउने पक्कापक्की रहेको सभापति बोहोराले बताए। उनले गठबन्धनको केन्द्रमा हुने सहमतिअनुसार अघि बढ्ने पनि जानकारी दिए।

दार्चुलाबाट एमालेले हालका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नालाई सिफारिस गरेको छ। उनलाई एमालेले एकल सिफारिस गरेको हो भने माओवादी केन्द्रले २०६४ का संविधासभा सदस्य लक्ष्मणदत्त जोशीलाई सिफारिस गरेको छ।