काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ७२ महिला र ९५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै गत २४ घण्टामा उपत्यकाकासहित ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
१५३ महिला र २७३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घन्टामा ५ हजार २२५ स्वाब नमूना परीक्षण गरिएकोमा ४२६ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै शुक्रबार थप ७४८ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५३ हजार १०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९७ प्रतिशत हो। कोरोनाका गम्भीर २३४ जना आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
यस्तै अहिले ३६७ जना क्वारेन्टिन र ६ हजार ४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस