काठमाडौं - असार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने आजको दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । आज घरघरमा तुलसी रोप्ने चलन छ ।

हरिशयनी एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाका हरिबोधनी एकादशीका दिन जागा हुनुहुने धार्मिक विश्वास छ । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

चतुर्मास अवधिमा विष्णु भगवानको पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुने विश्वास गरिन्छ । हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा विशेष पूजा हुने गर्दछ ।

पौराणिक कथा

सत्ययुगमा मान्धाता नामको एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन बर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानिय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।

यसै क्रममा विचरण गर्दै राजा मान्धाता अंगिरा ऋषिको आश्रममा पुगे । राजको कुरा सुनेर अंगिरी ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा आवश्यै पानी पर्नेछ ।’ अंगिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधी विधानपूर्वक देवशयनी एकादशीका व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।

पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पुरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।

पूजा विधी                                                                                                                                                                        विहान उठेर नुहाएर शरीर शुद्धिकरण गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेंलो फूल, पहेंलो वस्त्र, पहेलों चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्यमाले सुशोभित गर्नुपर्छ ।