काठमाडौं - पहिलो सिजनको सफलतापछि ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सृंखला साउन ३१ गतेबाट सुरु हुने भएको छ । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो प्रसारण हिमालय टीभी एचडीमा देख्न पाइने सो हो । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।

‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ ।’ पौडेलका अनुसार अघिल्लो बर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ ।

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् । कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआईसी एशिया बैंक र आईएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन् । अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन् ।