काठमाडौं-ललितपुरमा होली खेल्ने क्रममा आइतबार राति दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरको धोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा छुरा प्रहार हुँदा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पूजनको शव सुमेरु अस्पतालमा राखिएको छ भने रोबर्टको शव पाटन अस्पतालमा राखिएको छ । उनीहरुको मृत्यु भइसकेपछि मात्रै प्रहरीले खबर पाएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।

घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । होली खेल्ने क्रममा विवाद भएको हुनसक्ने प्रहरीको अनुमान छ ।