काठमाडौं - काठमाडौंको जडीबुटीमा प्रहरीको गोली लागेर पक्राउ परेका लुटेरा समूहका नाइके आयन माझी २७ वटा डाँकाचोरी तथा अन्य अपराधमा संलग्न रहेको खुलेको छ।
बुधबार राति काठमाडौं–३२ स्थित जडीबुटी पुलमुनि नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले पहिले २ राउन्ड हवाई फायर गरेको थियो।
त्यसपछि माझीको दायाँ खुट्टाको घुँडामुनि १ राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ का २४ वर्षीय माझी चोरी तथा डकैतीको नेतृत्व गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
उनीविरुद्ध २०७९ मा भक्तपुरबाट दुईवटा मुद्दासहित इलाका प्रहरी कार्यालय बनेपा लगायतका विभिन्न प्रहरी युनिटमा २७ वटा कसुर दर्ता भएको भेटिएको एसएसपी घिमिरेले बताए।
माझीसँगै प्रहरीले उनको समूहका राकेश थिङ र मनोज कुमार मोक्तानलाई पनि पक्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका घर भएका थिङ भक्तपुरको थिमी नगरपालिका–४ मा बस्दै आएका थिए।
प्रहरीका अनुसार समूहले मोटरसाइकलमा सवार भएर पैदल यात्रुको सुनको सिक्री लुट्ने तथा विभिन्न स्थानमा डाँकाचोरी गर्ने गरेको थियो। हालसम्म उनीहरूको समूहले १५ वटा मोटरसाइकल चोरी गरेको समेत खुलेको छ। सिक्री लुट्न जाँदा मनोजले मोटरसाइकल चलाउने, राकेश पछाडि बस्ने र आयनले समूहलाई ‘कमाण्ड’ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार करिब ९ महिनाअघि पक्राउ गरिएको सिक्री तथा डलर लुट्ने समूहसँग समेत आयन समूहको ‘नेक्सस’ देखिएको छ। त्यसबेला प्रहरीले पैदल यात्रुलाई बाटो सोध्ने बहानामा सिक्री लुट्ने अपराधमा संलग्न समूहलाई पक्राउ गरेको थियो।
आयन समूहले बौद्ध र स्वयम्भू क्षेत्रमा लुटपाटको आतंक मच्चाउँदै आएको प्रहरीको दाबी छ। आयन यसअघि पनि २०७७ सालमा डाँकाचोरी मुद्दामा पक्राउ परी जेल बसेर छुटेका थिए।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार खरिद गरेर ठूलो डकैती गर्ने योजनासमेत आयन समूहले बनाएको थियो।
तर, समूह पक्राउ परेपछि उक्त योजना विफल भएको एसएसपी घिमिरेले बताए।
असोज १४ गते बौद्ध गेटमा एक व्यक्तिबाट २ लाख रुपैयाँ लुटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको सादा पोशाकको टोलीले लुटेरा समूहको प्रोफाइलिङ गर्दै अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पछिल्लो समय उनीहरूले बीवाईडी गाडीभित्र रहेका एक व्यक्तिको सिक्री लुटेर भागेको समेत खुलेको प्रहरीले जनाएको छ। प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत घटनाबारे विस्तृत जानकारी दिएको हो।

.gif)


