काठमाडौं - दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा खाना पकाउने ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
ग्यास बजारमा उपलब्ध भए पनि सिलिन्डरको ब्रान्ड नमिल्दा उपभोक्ता समस्यामा पर्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था ल्याउन लागिएको हो ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा विभिन्न कम्पनीका सिलिन्डर प्रयोग भइरहेकाले ग्यास उपलब्ध हुँदाहुँदै पनि ब्रान्ड नमिल्दा उपभोक्ता समस्यामा पर्ने गरेको बताए । चाडपर्वका बेला यस्तो समस्या थप जटिल हुन सक्ने भएकाले अस्थायी रूपमा ब्रान्डको सीमितता हटाएर ग्यास सहज बनाउने तयारी भइरहेको उनको भनाइ छ ।
साहका अनुसार व्यवस्था अहिलेसम्म औपचारिक रूपमा लागू भइसकेको छैन । ग्यास उद्योगीहरूसँग बुधबार र बिहीबार भएको छलफल सकारात्मक दिशामा अघि बढेकाले शुक्रबारसम्ममा कार्यान्वयनको विषय टुङ्ग्याउने तयारी छ । उद्योगीहरूले आपसी सहमति गरी निगमलाई जानकारी दिएपछि चाडपर्व अवधिभर उपभोक्ताका लागि सेवा सञ्चालनमा ल्याइनेछ ।
थप शुल्क नलिने तयारी
प्रस्तावित व्यवस्थाअनुसार फरक कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिँदा उपभोक्ताले थप रकम तिर्नुपर्ने छैन ।
विगतमा कम्पनी फरक परेको सिलिन्डर साट्दा केही विक्रेताले अतिरिक्त शुल्क लिने गरेको गुनासो आउने गरेको थियो । तर चाडपर्वलाई लक्षित गरी ल्याउन लागिएको व्यवस्थामा यस्तो शुल्क नलिने गरी सहमति बनाउने तयारी गरिएको छ ।
निगमका अनुसार एउटा मात्र सिलिन्डर भएका परिवारलाई यसबाट विशेष राहत पुग्ने अपेक्षा गरिएको छ । बजारमा ग्यास आए पनि आफ्नै कम्पनीको सिलिन्डर मात्र खोज्नुपर्ने बाध्यताले उपभोक्तालाई अनावश्यक सास्ती हुने भएकाले अस्थायी रूपमा ब्रान्डको सीमा हटाउन लागिएको हो ।
उपत्यकामा १५ देखि २० संयुक्त बिक्री केन्द्र
ग्यास उद्योगीहरूले उपत्यकाका विभिन्न स्थानमा संयुक्त बिक्री केन्द्र स्थापना गरेर सेवा दिने तयारीसमेत गरेका छन् । उद्योगीहरूका अनुसार करिब १५ देखि २० स्थानमा यस्ता केन्द्र सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एउटा कम्पनीको खाली सिलिन्डर अर्को कम्पनीले अस्थायी रूपमा स्वीकार गर्नेछ । पछि सम्बन्धित उद्योगहरूले आपसी समन्वयमा सिलिन्डर व्यवस्थापन गर्नेछन् ।
उनका अनुसार यो सुविधा नियमित व्यावसायिक कारोबारका लागि नभई चाडपर्वमा ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई तत्काल राहत दिन केन्द्रित हुनेछ ।
दुरुपयोग रोक्न मोबाइल नम्बर र पहिचान विवरण
सिलिन्डरको दुरुपयोग रोक्न सेवा लिन आउने उपभोक्ताको पहिचानसम्बन्धी विवरण र मोबाइल नम्बर राख्ने तयारीसमेत गरिएको छ ।
यसबाट वास्तविक उपभोक्ताले मात्र सुविधा पाउने र व्यवसायी वा डिलरले व्यवस्थाको दुरुपयोग गर्न नसक्ने उद्योगीहरूको भनाइ छ । निगमले संयुक्त बिक्री केन्द्रसँगै सम्भव भएसम्म स्थानीय विक्रेताकै तहबाट यस्तो साटासाटको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ । त्यसो भए उपभोक्ताले टाढासम्म धाउनुपर्ने अवस्था नआउने निगमको बुझाइ छ ।
सेवा सञ्चालन हुने स्थान र प्रक्रिया टुङ्गो लागेपछि एक–दुई दिनभित्र औपचारिक जानकारी सार्वजनिक गर्ने निगमको तयारी छ ।
दशैंमा काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरिने भएकाले सामान्य अवस्थामा ग्यासको माग घट्ने भए पनि उपत्यकामै बस्ने परिवारका लागि सिलिन्डरको ब्रान्ड नमिल्ने समस्या कायमै रहनेछ । त्यसैले व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डकै सिलिन्डर खोज्दै पसल–पसल धाउनुपर्ने बाध्यता हट्नेछ ।

.gif)



