काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा गुण्डागर्दी र ठगीजस्ता गतिविधिमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुण्डागर्दी नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू विभिन्न होटल तथा रेस्टुरेन्टसँग आवद्ध ‘बिचौलिया’का रूपमा काम गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूले हवाई यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख–हैरानी दिने, विभिन्न प्रलोभन देखाएर आफूले सेटिङ गरेका होटलमा लैजाने र त्यसबापत कमिसन लिने गरेका थिए। साथै आपसमा झगडा गर्ने र अभद्र व्यवहार देखाउने गतिविधिमा पनि उनीहरू संलग्न रहेको खुलेको छ।

उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले एयरपोर्ट क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा देशका विभिन्न जिल्लाबाट आएर काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तिहरू रहेका छन्।

उनीहरूमा सूर्य माझी, एकेश तामाङ, प्रेम कुमार मगर, राजकुमार राई, मगलमान घलान, खगेन्द्र लिम्बू, आशिष खतिवडा, बिश्व मोक्तान, वीरेन्द्र झा, लडा मिया, पर्सुराम राई, सन्तु तामाङ, रघुवीर साह, राजिब कुमार रावत, सरोज कुमार महतो, अजय लामा, केशब लिम्बू, रामप्रसाद जोसी र बिमलराज जोशी रहेका छन् ।