काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित ष्रेको हो । 

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रनमै समेटियो । हैदराबादका लागि मनिष पाण्डे र जोनी बेयरस्टोले अर्धशतकिय इनिंग्सको योगदान गरे । मनिष ६१ रनमा अविजित रहँदा बेयरस्टोले ५५ रन बनाए ।

 यस्तै, अब्दुल सामद १९ रनमा अविजित रहे भने मोहम्मद नाबी १४ र विजय शंकर ११ रनमा आउट भए । बलिङमा कोलकाताका प्रसिद्ध कृष्णाले २ विकेट लिए भने आन्द्रे रसेल, सकिब अल हसन र प्याट कमिन्सले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । कोलकाताका लागि नितेश रानाले सर्वाधिक ८० रनको योगदान दिए । यस्तै, राहुल त्रिपाठीले ५३ रन बनाउँदा  दिनेश कात्तिक २२ रनमा अविजित रहे ।

बलिङमा हैदराबादका मोहम्मद नाबी र राशिद खानले समान २/२ विकेट लिए । टि नटराजन र भुवनेश्वर कुमारको नाममा १–१ विकेट रह्यो ।