काठमाडौं - सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा तत्कालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले कोषमा रहेको रकममध्ये १ अर्ब रुपैयाँ विपद् प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टका अनुसार उक्त रकम गृहसचिवको नेतृत्वमा रहेको संयन्त्रमार्फत परिचालन हुने गरी विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ अनुसार विपद् व्यवस्थापन कोषको व्यवस्थापन गृहसचिवले गर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकमा रहेको मौज्दातबाट १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको हो।

निकासा भएको रकम बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार तथा अस्थायी वासस्थान निर्माणलगायतका काममा खर्च गर्न सकिनेछ।