काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुगेको छ।

नेपाल प्रहरीले बुधबार बिहान ५ बजेसम्म विभिन्न जिल्लासहित भारतमा समेत गरी १ हजार १ सय २७ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको लासजाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका ९ सय ११ वटा शवको विवरण नेपाल प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। आफन्त तथा परिवारजनले उक्त विवरणमार्फत बेपत्ता आफन्तको शव पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

प्रहरीका अनुसार हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी प्रभावित क्षेत्रमा परिचालन भएका छन्। उनीहरूको सक्रियतामा बाढी प्रभावित क्षेत्रबाट ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ।

यद्यपि, बाढीपछि अझै ४ हजार ८ सय ५८ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ। उनीहरूको खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामसमेत गरिरहेको जनाएको छ।