आर्सनल नकआउट चरणमा प्रवेश
काठमाडौं, एजेन्सी - इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डको डुनडल्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्सनल नकआउट चरणमा प्रवेश गरेको हो ।
डुनडल्कको मैदानमा १२ औं मिनेटमा एडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा मोहमेद एल्नेनीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।
खेलको २२ औं मिनेटमा जोर्डन फ्लोरेसले गोल गर्दै डुनडल्कलाई २-१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दा आर्सनल ४-१ ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा घरेलु टोलीका सिन होआरेले गोल गरेपनि आर्सनल ४-२ ले विजयी भयो ।
जितसँगै समूह बी को आर्सनल ६ खेलमा १८ अंक जोड्यो । शतप्रतिशत जित निकालेको आर्सनल समूह विजेता समेत बनेको छ ।डुनडल्कले अंक विहीन रहदै समूह चरणको अन्त्य गर्यो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस