काठमाडौं - अबको एक हप्तामा प्रतिनिधि सभाको सभामुख चयन प्रकृया सुरु हुँदैछ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठलको सभामुख चयन प्रकृयाको मिति नै तोकिसकेको छ । दलहरु सभामुख र उपसभामुख चयनका परामर्शमा व्यस्त छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुख आफैं राख्ने संकेत दिए पनि उपसभामुख कसलाई दिने भन्नेबारे निधो गरेको छैन । हाल उपसभामुख रहेकी शिवमाया तुम्बहाम्फेले राजीनामा दिएपछि सहज हुने मनसायमा रहेको नेकपाले कसलाई सभामुख बनाउने भनी नाम तय गर्न सकेको छैन ।

सभामुखमा दाबी पेश गरिरहेकी तुम्बहाम्फे पार्टीले उम्मेद्वार खडा नगरेसम्म राजीनामा नदिने मनस्थितिमा छिन् । उनी आफूले सभामुख नपाए पनि सभामुखको उम्मेद्वार छानिएपछि सहज वातावरण बनाइदिने बताएकी छिन् ।

उपसभामुख राजपाको पोल्टामा

केही दिनअघि भएको सत्तारुढ दल नेकपासँग भएको दुई बुँदे सहमति र भारतसँगको सीमा विवादमा गर्ने भनिएको सहकार्यले उपसभामुख पद राष्ट्रिय जनता पार्टी(राजपा)लाई जाने संकेत देखिएको छ । यद्यपि सरकारले अहिलेसम्म औपचारीक रुपमा कुनै प्रस्ताव नराखेको राजपाका एक उच्चस्तरीय नेताले बताएका छन् । उनकै अनुसार अहिले सत्तामा रहेको समाजवादी पार्टीले उपसभामुख पाउने कुनै सम्भावना छैन ।

उनले भने, ‘राजपा त्यसै पनि दावेदार त भैहाल्यो । चुनावी अंकगणितका आधारमा पनि राजपाले कुनै शंका छैन ।’ यो संकेत राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले औपचारीक कार्यक्रममै गरेका छन् । महतोले भने, ‘उपसभामुख प्रतिपक्षलाई जाने हुँदा हामीलाई पनि आउन सक्छ । राजपा नेपाललाई पनि दिन सक्छ नेकपाले, अब कहाँ समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’

पूर्वसभामुख कृष्णबहादुर महरा जबरजस्ती करणी आरोपमा पक्राउ परेपछि उनले सभामुदख पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेकपामा कसलाई सभामुख बनाउने भन्नेमा अन्योल पैदा भएको छ ।