काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवारी दिने भएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा धनुषाको क्षेत्र नं ३ बाट विजयी भएका उनले यसपटकको निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार बन्ने दाबी छाडेका हुन् । अघिल्लो निर्वाचनमा मधेसी मोर्चाबाट उम्मेदवार बनेका महतोले धनुषा ३ मा नेकपा (एमाले)को अप्रत्यक्ष सहयोग पाएका थिए ।

एमालेको अप्रत्यक्ष सहयोगमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । निधि यो पटक प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवार बनेका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणामले धनुषा ३ यसपटक महतोका लागि सहज देखिएको छैन । सो क्षेत्रमा एमालेले जुलीकुमारी महतोलाई उम्मेदवार बनाउने भएपछि उनले सो क्षेत्रको दाबी छाडेको बुझिएको छ ।