काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा पुनः सक्रिय राजनीतिमा फर्कनुको मुख्य उद्देश्य पार्टीको नेतृत्व लिनु रहेको स्पष्ट पारेकी छन् ।

पत्रकार जगदीश खरेललाई दिएको विशेष अन्तर्वार्तामा उनले एमालेको अध्यक्ष बन्ने लक्ष्यसहित पार्टी राजनीतिमा सक्रिय भएको खुलेर स्वीकारेकी हुन् ।

पत्रकार खरेलले तपाईं एमालेको राजनीतिमा फर्कनु भनेको अध्यक्ष बन्नका लागि हो भन्दै प्रश्न गरे । उनले स्पष्ट रूपमा जवाफ दिइन् — ‘एकदम, त्यसमा त कुनै सन्देह छ र ?’

पूर्वराष्ट्रपति भण्डारीले पार्टी नेतृत्वको विषय अहिले सार्वजनिक बहसको मुद्दा भइसकेको उल्लेख गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने धारणा राखिन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई लामो सहकार्यको रूपमा चित्रण गर्दै भनिन्, “उहाँसँग म निरन्तर संवादमा छु, मैले पार्टी सदस्यता नवीकरण गर्दै छु भन्दा उहाँले ‘स्वागत छ’ भन्नुभयो।”

उनले तत्कालीन उपाध्यक्ष भइसकेको स्मरण गर्दै भनिन्, ‘अब पार्टीमा यति अनुभव लिएर आइसकेपछि मैले जिम्मेवारी लिने भनेको तपाईंहरूले सोचेको लाइनतिरै जान्छ।’

पत्रकार खरेलले बारम्बार सोध्दा पनि उनले ‘अध्यक्ष’ शब्दको औपचारिक घोषणा नगरे पनि उनको अभिव्यक्तिमा अध्यक्षीय आकांक्षा स्पष्ट झल्किएको छ। उनले अन्तमा भने, ‘समय आउनुपर्‍यो नि, प्रतीक्षा गर्नुस् न।’ यससँगै एमालेको आगामी महाधिवेशनप्रति चासो बढेको छ।