काठमाडौ,एजेन्सी - ब्राजिलियन स्टार नेयमार चम्किँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लेन्सलाई २–१ ले पराजित गरेको हो । 

खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । त्यसपछि ६१औं मिनेटमा इग्नाटिएस गनागोले गोल गर्दै लेन्सलाई २–१ को अवस्थामा ल्याएपनि पीएसजी विजय बन्यो । 

जितसँगै पीएसजीले ३५ खेलबाट ७५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पराजित लेन्स ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा शीर्षस्थानको लिलले पनि जित हात पारेको छ । लिलले १० खेलाडीमा समेटिएको निसलाई २–० को पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको हो । लिलको ७६ अंक छ । पराजित निस ४६ अंक जोडेर नवौं स्थानमा छ ।