सिन्धुपाल्चोक -  जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए।

पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् , नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताए।

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको छ । थप विवरण आउन बाँकी छ ।