काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नयाँ वर्षमा देशकोरोना र भ्रष्टाचार दुवैबाट मुक्त होओस् भन्ने शुभकामना दिएका छन् ।

नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा शुभकामना प्रदान गर्दै उनले २०७७ साल उथलपुथलपूर्ण रहने बताएका छन् । ‘नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहँदै आएको छ । यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्! सबैको भलो होस्, हार्दिक शुभकामना ।’

यस्तो छ भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको शुभकामना-

फेरि एक पटक एउटा वर्ष ( वि सं २०७६ ) बितेर अर्को वर्ष ( २०७७ ) शुरू भएको छ । अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छ; हामी त्यति नै समयले मृत्यु नजिक हुँदैछौं । यो तपाईंहाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो ।


ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी (अहिलेसम्म थाहा भए अनुसार ) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्छौं । तर गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो । त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे ।


नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहँदै आएको छ । यो वर्ष त दुइवटा सात ७७ भएको वर्ष हुनाले महाउथलपुथलकारी वर्ष हुनसक्छ । देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस् । सबैको भलो होस् । हार्दिक शुभकामना ।