अब आन्तरिक मूल्याङ्कनबाट गरिनेछ विद्यार्थीको ग्रेड वृद्धि
काठमाडौं - सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी तथा विद्यालयहरुमा क्वारेन्टाइन बनाइएका कारण परीक्षा लिन नसकिएको उल्लेख गरे। यो अवस्थामा विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षाको आधार मान्ने निर्णयमा सरकार पुगेको उनले जानकारी दिए। विद्यालयको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर यस पटकका लागि एसईईको परीक्षाको निकास निकालिने भएको छ ।
सरकारको निर्णयपछि अव विद्यालयले नै विद्यार्थीको एसईईको मूल्याङ्कन गरी ग्रेड समेत निर्धारण गर्ने बाटो खुलेको छ भने पुरानो परिपाटीबाट परीक्षा नहुने स्पष्ट भएको छ । तत्काल एसईई परीक्षा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि सरकारले परीक्षा लिने पुरानो परिपाटीमा परिवर्तन गरेको हो । सरकारको यो निर्णयसँगै एसईई परीक्षाका बारेमा लाखौँ विद्यार्थी तथा अभिभावकमा रहेको अन्यौल हटेको छ ।
यस विषयको प्रस्ताव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबारको मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । यसअघि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि चैत ६ गतेबाट सञ्चालन हुने गरी तयारी गरिएको एसईई परीक्षा चैत ५ गते रोक्ने निर्णय गरिएको थियो ।
यसपटक झण्डै चार लाख ८२ हजार परीक्षार्थीले सहभागिता जनाउँदै थिए । परीक्षाका लागि एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको थियो भने प्रश्नपत्र समेत सम्वद्ध स्थानमा पुर्याइएको थियो । तर अन्तिम समयमा आएर परीक्षा रोकिएको थियो ।
गोरखापत्र दैनिककनबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस