सत्तारुढ गठबन्धनको बैठक सकियो, प्रभावकारी ढंगले सरकार सञ्चालन गर्ने निर्णय
काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
शनिबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद् विस्तार, गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल गरेको एक नेताले जानकारी दिए ।
नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने घोषणा गरेकोप्रति धन्यवाद दिएका छन् ।
‘गठबन्धनका सबै नेताहरुले प्रधानमन्त्रीलाई तपाईंले एउटा सिम्बोलिक काम गर्नुभयो, नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु अब बालुवाटारमा गदिनँ भनेर जुन घोषणा गर्नुभयो, यो सानो काम तर त्यसको ठूलो म्यासेज गएको छ । त्यसको लागि तपाईंलाई धन्यवाद ।’ नेताहरुको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
यस्तै, बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’ ती नेताले भने ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
फेसबुक पेज Like गर्नुहोस