काठमाडौं-नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।

पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भएको जानकारी दिए।

यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारी कर्मचारी तथा बिचौलियाहरु पक्राउ परेका छन्। उनीहरु अहिले प्रहरी हिरासतमा रहेका छन्।