काठमाडौं - सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्ध अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको एस्ट्राजेनेका खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अनुसार चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप लगाउन लागिएको हो । 

भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिसिल्डको दोस्रो मात्रा भारतबाट खरिद गरे पनि उपलब्धमा ढिलाई हुने भएकाले वैकल्पिकका रुपमा एस्ट्राजेनेकाको खोप दिने तयारी गरिएको हो । 

खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिकामा १७, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ । त्यस्तै, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र खोप लगाइनेछ ।