राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण
काठमाडौं - पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा सुप्रबल जनसेवाश्री तृतीय’ विभूषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोस्ट गरिएको थियो ।
संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर हेर्दा कालापानी/लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । यो लोगो संविधानविपरीतसमेत हो ।
संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ । सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ । संविधानको संरक्षक राष्ट्रपति हुने संविधानमा उल्लेख गरिएको छ । संविधान संशोधनपछि पनि चलनचल्तीमा चुच्चे नक्सा नै छ । गलत नक्सा भएको विभूषण राष्ट्रपतिबाटै वितरण गरिनु लापरबाही भएको पूर्वप्रशासक र सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । गलत नक्सा भएको विभूषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर श्रेष्ठलगायतले समेत ग्रहण गरेका छन् । निजामती, जंगी, प्रहरी, न्याय, संसद्, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको हो ।
अन्नपूर्ण पोष्ट दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस