काठमाडौं - नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। 

गत फागुन २३ गते बिहान ६ बजे ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेतअवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो। लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएको थियो । सुर्खेत प्रहरीले उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।

हाल इनिसा घटनाको छानबिनका लागि सुर्खेत आएको सिआइबीको टोली अनुसन्धान सकेर आइतबार नै काठमाडौं फर्किएको छ। प्रदेश अस्पताल सुर्खेतमा इनिसाको शव परीक्षणपछि प्राप्त भएको प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

थप प्रमाण प्राप्त हुना साथ अनुसन्धान प्रतिवेदन र्सावजनिक हुने उनले बताए ।