प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा जाने सम्भावना
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर सरकारी निवास बालुवाटार पुगेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री देउवा र ठाकुरबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बताएको छ । ठाकुरले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री देउवाले संविधान र कानुनअनुसार प्रक्रिया अघि बढाउन आफू तयार रहेको आश्वासन दिएका थिए ।
त्यस्तै, दुई नेताबीच सरकारमा सहभागिताका विषयमा पनि छलफल भएको बताइएको छ । आइतबार प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको ठाकुर पक्ष सरकारमा सहभागी हुने सम्भावना बढेको छ । यसअघि ठाकुर पक्ष तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि सहभागी भएको थियो । देउवालाई साथ दिइरहेको जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सरकारमा जाने निश्चित छ।
फेसबुक पेज Like गर्नुहोस