काठमाडौं - महालेखा परीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायलाई सिफारिस गरिएको छ । आइतबार बिहान संवैधानिक परिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
उनलाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।
संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखापरीक्षक पद रिक्त रहेको थियो ।
महालेखा परीक्षक बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा २० वर्ष अनुभव प्राप्त गरेको व्यक्ति योग्य हुन्छ ।

.gif)


