ओलीलाई भेट्न एमसिसीकी उपाध्यक्ष बालकोटमा
काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट काठमाडौँ आइपुगेकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको टोलीले सबैभन्दा पहिलो भेट अपरान्ह बालकोट पुगेर ओलीसँग गरेको हो । भेटमा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन्।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस