काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाएका छन् ।

सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै भएको हुँदा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा सरोकार नै नभएका व्यक्तिलाई जबर्जस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्र, उपक्रम र रवैया खेदजनक भएको पनि जनाएका छन् ।

महासङ्घका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले उक्त विज्ञप्ति सरासर झुट, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट पारे । प्रधानमन्त्रीको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपोगण्डालाई खारेज गर्नुपर्ने उनको भनाइ छ ।

“षड्यन्त्रमा को संलग्न छन् ? यो सब किन गरिएको छ ? क–कसले यसमा लगानी गरेका छन् ? क–कसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्छौँ”, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरूसमेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ, हामीलाई षड्यन्त्रकारीजस्तै यस्ता हर्कतको पछाडि लाग्ने कुनै फुर्सद छैन, बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौँ ।”

महासङ्घले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भन्नेमा कुनै सत्यता नभएको, बरू त्यो अत्यन्त हाँस्यास्पद र गैरजिम्मेवार भएको उल्लेख गरे । पत्रकारको छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नाङ्गो दुरूपयोग भएको थापाको तर्क छ ।