काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-युरोपेली संघ (ईयू) साझेदारीका विभिन्न पक्षमा छलफल भएको हो ।

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोसी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र ईयूबीचको साझेदारीका विविध आयाममा महत्त्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

विशेषगरी, हालै नेपालमा जलवायु परिवर्तनको कारणबाट सिर्जित भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको बताइएको छ ।