काठमाडौं - प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग आगामी भदौ १० गते प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको मिति तय भएको जानकारी गराएका हुन्।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेको बैठकमा सञ्चालन हुनेछ।

सभामुख अर्यालले प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन इच्छुक सांसदलाई आफ्नो नाम टिपाउन आग्रह गरेका छन्।

उनका अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने गरी प्रधानमन्त्रीसँग बढीमा १५ वटा प्रश्न सोध्न सकिनेछ।

सभामुख अर्यालले बैठकमा भने, ‘प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरी निर्धारण गरिएको बेहोरा जानकारी गराउँदछु।’

प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउनुपर्ने माग विपक्षी दलका सांसदहरूले निरन्तर उठाउँदै आएका थिए।

प्रधानमन्त्री संसद् बैठकमा नियमित उपस्थित नभएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाउँदै आएपछि सोमबारकै बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित हुन रुलिङ गरेका थिए।