काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । संसदीय दलको नेतामा उनको एकल उम्मेदवारी परेपछि मङ्गलबार उनी दलको नेतामा निर्विरोध रूपमा चयन भएका हुन् ।

यसअघि संसदीय दलको नेता रहेका सत्यनारायण मण्डलविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मंगलबार बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको थियो ।

त्यसपछि नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो । चुनाव कार्यक्रमअन्तर्गत मङ्गलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र पौने ३ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने निर्धारित तालिका रहेकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी संसदीय दलको नेता बनेका हुन् ।

बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।

नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।