काठमाडौं, वीरगन्ज - बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले ठक्कर दिँदा स्कुटीमा सवार निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार साँझ निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना४ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न२-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

बसका चालक फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।