एजेन्सी - स्पेनको मध्यभागमा दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।
बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए ।
यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।
दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक मानिएको छ । यो पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाबाट ज्यान जोगिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको र केही यात्रु भग्नावशेषमा फसेको बताएका छन् । रेलभित्र फसेका यात्रु बाहिर निस्कन झ्याल फुटाउन बाध्य भएका थिए ।
स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेपछि मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा दुर्घटना भएको हो ।
दुर्घटनापछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ । ठूलो संख्यामा यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

.gif)



