एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु, माधव पक्षका सांसदलाई कारवाहीको तयारी
काठमाडौं - नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको हो । बिहान १० बजे बोलाइएको आयोजक कमिटीकाे बैठक भन्दाअघि स्थायी कमिटी बसेपछि केही समय ढिला गरी शुरू भएको हो ।
बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै माधव नेपाल र झलनाथ खनाल पक्षका केही नेतालाई निलम्बन गर्ने तयारी भएको छ ।
यसअघि बसेको आयोजक कमिटीको बैठकले नेता नेपालसहित २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको थियो तर, अविश्वास प्रस्तावको तरंग फैलिएपछि आयोजक कमिटीको बैठकबाटै निर्णय लिन लागिएको स्रोतको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस