काठमाडौं मेयर कपः एपीएफलाई हराउँदै पुलिसले जित्यो उपाधि
काठमाडौं - काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । एपीएफले दिएको १०६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो ।
पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्सको योगदान गरे । यस्तै, अनिल साह र कुशल भुर्तेलले समान १५ रन तथा दिपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे । बलिङतर्फ एपीएफका अविनास बोहरा र भुवन कार्कीले १र१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । एपीएफका लागि वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै, सन्दीप जोरा र अमर राउटेलाले १८/१८, भुवन कार्कीले १४ र अभिनाश बोहराले १२ बनाए । एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले समान ४/४ विकेट लिए । यस्तै पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए । प्रतियोगिताको विजेता पुलिसले ५ लाख पाएको छ भने उपविजेता एपीएफले ३ लाख पाउनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस