पाकिस्तानका पूर्वप्रधानमन्त्री र गृहमन्त्रीमाथि बलात्कारको आरोप
एजेन्सी - केही समयदेखि शिथिल देखिएको ‘मि टु’ अभियानले विश्वव्यापीरुपमा फेरि हलचल मच्चाउन शुरु गरेको छ । विश्वको ध्यान नै कोरोना संकटतर्फ केन्द्रित भैरहेको बेला एक जना अमेरिकी ब्लगरले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई बलत्कार र यौन उत्पिडन गरेको आरोप लगाउदैं आउंदो सातादेखि ‘कानुनी लडाई लड्ने’ उद्घोष गरेपछि त्यसले पाकिस्तानमा मात्र होइन, विश्वव्यापीरुपमै हलचल मच्चाइरहेको छ ।
‘आउंदो सातादेखि कानुनी लडाई लड्नको लागि म तयार छु । जांचकर्ताहरुसंग छलफलको लागि मानसिकरुपमा तयारी गर्दैछु । त्यसैले अहिलेलाई मेरो व्यक्तिगत जीवनको कदर गर्दै मलाई एकान्तमै रहन दिनको लागि सबैसंग अनुरोध गर्दछु’ अमेरिकी ब्लगर सिन्धिया डि रिचीले सामाजिक संजालमा लेखेकी छन् ।
उनले पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी तथा पूर्व स्वास्थ्य मन्त्री शाहवुद्धिनले आफूलाई पटक पटक यौन दुव्र्यवहार गरेको र पूर्व गृहमन्त्री रहमान मलिकले कैयौं पटक बलत्कार गरेको दावि गरेकी छन् । उनीहरु तिनै जना पाकिस्तान पिपुल् पार्टीका प्रभावशाली नेताहरु हुन् । उनले रहमानले आफूलाई उनकै निवासमा बलत्कार गरेको दावि गरेकी छन् ।
‘यो सन् २०११ को कुरा हो, अमेरिकी कमाण्डोले पाकिस्तानको एबोटावादमा ओसमा विन लादेनलाई मारेको बेलाको घटना । त्यतिबेला म मेरो भिषाको बारेमा छलफल गर्न पाकिस्तानका तत्कालिन गृहमन्त्री रहमान मलिकको निवासमा गएकी थिएं । मलाई यस्तो पेय पदार्थ दिइयो, शायद त्यसमा नसिला पदार्थ मिसाइएको थियो ।’आफू माथि तत्कालिन गृहमन्त्री रहमान मलिकले बलत्कार गर्दाको प्रसंग उल्लेख गर्दै उनले दावि गरेकी छन् । त्यतिबेला आफूले पाकिस्तानमा रहेको अमेरिकी दूतावासका एक उच्च अधिकारीको साथ स्वंय पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष विलावल भुट्टोलाई समेत जानकारी गराएको तर कुनै सुनुवाई नभएको उनको दावि छ ।
उनले पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी र पूर्व स्वास्थ्य मन्त्री शाहवुद्धिनले पनि पटक पटक यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।
सिन्थियाको आरोप पछि पाकिस्तान भित्र निकै ठूलो हलचल मच्चिएको छ । गिलानीले उनको आरोपको बारेमा टिप्पणी गर्न नै अस्विकार गरेका छन् भने पूर्व गृहमन्त्री मलिकले आरोप प्रति आक्रोस व्यक्त गर्दै त्यसमा कुनै सत्यता नभएको दावि गरेका छन् । पाकिस्तानका मूलधारका संचार माध्यम र राजनीतिक विश्लेषकहरुले भने अमेरिकी सरकारले पाकिस्तानमाथि गरिरहेको षडयन्त्रको रुपमा यसलाई लिएका छन् । जे भए पनि यो घटनाले विश्वभरमै महिला उत्पिडन विरुद्धको ‘मि टु’ अभियान फेरि चर्कने विश्वांस गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस