काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा संवैधानिक परिषद्को बैठकमा सहभागी भएका छन्। यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। त्यस सम्बन्धी मुद्दा विचाराधिन रहेकाले प्रधानन्यायाधीश जबराले बैठकमा सहभागिता जनाउन नहुने विपक्षी दलको जिकिर रहेको थियो। 

प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक प्रारम्भ भएको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी भएका छैनन्। 

सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गरी आफू बैठकमा नजाने र अरू सदस्यलाई पनि बैठकमा सहभागी नहुने आग्रह गरेका थिए। त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रेस विज्ञप्ति जारी गरी बैठकमा सहभागी नहुने आग्रह गरेका थिए। 

प्रधानमन्त्रीको नेतृत्वमा संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलको नेता सदस्य रहन्छन्। प्रधानन्यायाधीश जबरा सहभागी भएसँगै बैठकका लागि आवश्यक संख्या पुगेको छ।