काठमाडौं - बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन्।

कांग्रेस र एमालेका तर्फबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेश गरेका हुन्। प्रदेश प्रमुख समक्ष १९ गते पेश गरिएको दाबीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ।

संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेश गरेका हुन्। दाबी पेश गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ।

प्रदेश प्रमुख कार्यालयले सोमवार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। मंगलवार दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त गरेर ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ।