धादिङ - धादिङको गजुरी गाउँपालिका–५ बाङगेमोडमा गएको पहिरो पन्छाएपछि सडकमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ। पहिरो हटाउन दुईवटा स्काभेटर परिचालन गरिएको नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीले बताए।

पृथ्वी राजमार्गका अन्य स्थानमा समेत पहिरो हटाउने काम भइरहेको छ। गजुरी गाउँपालिका–२ चालिसेमा दिउँसो ठूलो ढुंगा खसेपछि सडकमा खसेको पहिरो तथा ढुंगा पन्छाउने काम भइरहेको अधिकारीले बताए। परेवाभीरमा खसेको पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ भने अन्य केही स्थानमा खसेका पहिरोसमेत हटाइएको उनले जानकारी दिए।

आयोजनाका अनुसार नागढुंगादेखि मलेखुसम्मका तीनवटा खण्डलाई तत्काल बढी जोखिमयुक्त क्षेत्रका रूपमा हेरिएको छ। पातलेबन क्षेत्रमा सडकको हालको सतहभन्दा करिब १२ मिटर तलबाट ग्याभिन वाल उठाउनुपर्ने भएकाले स्थायी पुनःस्थापनाको कामसमेत अघि बढाउनुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ। ग्याभिनको कामपछि माइक्रोपाइलिङ र एंकरिङ गर्नुपर्ने बताइएको छ।

अविरल वर्षाका कारण थप पहिरो तथा अन्य विपद्को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा असोज ११ गतेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो।

धादिङ भएर पृथ्वी राजमार्गको करिब ८६ किलोमिटर सडक पर्छ। यही मार्ग हुँदै ६७ जिल्लाका सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले जोखिमको अवस्थामा राजमार्ग सञ्चालन गर्दा थप समस्या आउन सक्ने प्रशासनको आंकलन छ। गाैतमका अनुसार सूचना जारी हुनुअघि नै सडकमा निस्किएका र बीच बाटोमा रोकिएका सवारीसाधन तथा यात्रुलाई भने पहिरो पन्छाउँदै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।

राजमार्ग बन्द भएपछि धादिङ क्षेत्रमा प्रवेश गरेका यात्रु तथा सवारीसाधनका लागि जोखिमरहित स्थानमा १० वटा होल्डिङ सेन्टरसमेत तयार गरिएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, स्थानीय तह र होटल व्यवसायीसँग समन्वय गरी यात्रुलाई खाना तथा बसाइमा सहजीकरण भइरहेको गाैतमले बताइन्। कृष्णभीरमा बाढीले सडक कटान गरेपछि खोलिएको नयाँ ट्र्याकलाई तत्काल सुरक्षित र सञ्चालनयोग्य बनाउने काममा जोड दिइएको छ। प्राविधिक टोलीले ट्र्याकको अवस्था अध्ययन गरिरहेको र वर्षाको समयमा यसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताइन्।

वर्षा रोकिएपछि प्राविधिक अध्ययनका आधारमा कृष्णभीरको दीर्घकालीन संरक्षण, सडक विस्तार वा वैकल्पिक ट्र्याक निर्माणको विषयमा थप निर्णय गरिने प्रशासनले जनाएको छ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, परेवाभीर,चालिसे र बाङगेमोडलगायतका स्थानमा पहिरो खसेपछि सुरक्षाकर्मी, प्राविधिक तथा सडक आयोजनाका टोली परिचालन गरिएको छ।