म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु : मुख्यमन्त्री लामा
मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले आफूमाथि दर्ता भएको अविश्वास प्रस्तावलाई सामान्य प्रक्रियाको रूपमा लिँदै त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार २१ जना सांसदको हस्ताक्षरसहित लामा विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, “म प्रस्ताव फेस गर्न तयार छु। यो पार्टीभित्रको सामान्य प्रक्रिया हो, ठूलो कुरा मानेको छैन।”
मुख्यमन्त्री लामाले गठबन्धन सरकारको नेतृत्व सत्तारूढ दलहरूमाझ भएको सहमतिको आधारमा सञ्चालन हुने उल्लेख गर्दै अहिले राजीनामा दिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। “यदि सहमति अनुसार मेरो कार्यकाल सकिएको भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्थ्यो,” उनले भने, “तर अहिले त्यो अवस्था छैन। दलका केही साथीहरूले नेता फेरौँ भनेर अविश्वासको प्रस्ताव ल्याएका हुन्।”
उनले कांग्रेसभित्रका केही सांसदले मात्रै नेतृत्व परिवर्तनको कुरा उठाएर परिणाम नआउने जिकिर गरे। “यो गठबन्धन सरकार हो, यसको असर अन्य प्रदेशमा पनि पर्छ। त्यसकारण सोचविचार गरेर मात्रै निर्णय गर्नुपर्छ,” लामा तामाङले भने।
बजेटलाई लिएर आफूलाई असफल देखाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यो नियत पूर्वाग्रही भएको टिप्पणी गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस